Thursday, August 20, 2015
'ब्ल्याक स्पट' बन्यो बबरमहल
काठमाडौं- तीनकुने–माइतीघर सडक विस्तारपछि बबरमहल सडकखण्ड निकै फराकिलो र सुन्दर बनेको छ। तर, त्यही फराकिलो र सुन्दर सडक यतिबेला सबैभन्दा बढी सवारी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) बन्नकाठमाडौं- तीनकुने–माइतीघर सडक विस्तारपछि बबरमहल सडकखण्ड निकै फराकिलो र सुन्दर बनेको छ। तर, त्यही फराकिलो र सुन्दर सडक यतिबेला सबैभन्दा बढी सवारी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) बन्न पुगेको छ।
बबरमहल सडकखण्डमा एक वर्षभित्र चार वटा ठूला दुर्घटना भएका छन्। अघिल्लो वर्षको असोजदेखि अहिलेसम्म भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाए भने १५ जनाभन्दा बढी घाइते भएका छन्।
बुधबार राति पनि बबरमहलमै अर्को कहालीलाग्दो दुर्घटना भयो। नयाँ बानेश्वरतिरबाट माइतीघरतर्फ आइरहेको बा ३ प ६८३२ नम्बरको मिनी ट्रकले बा ५६ प ४५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ध्रुव केसीको मृत्यु भयो।
दुर्घटनालगत्तै बेहोस उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिए पनि अस्पताल नपुग्दै उनको मृत्यु भैसकेको थियो। अस्पतालकी डक्टर प्रिया गुरुङका अनुसार अस्पताल पुग्दा केसीको 'ब्रेन डेथ' भैसकेको थियो।
प्रहरीका अनुसार मिनिट्रकले ठक्कर दिएको स्कुटर कच्याककुचुक भएको छ। ट्रकले स्टिलको बार डिभाइडरक भत्काएर अर्को लेनमा गुडिरहेको स्कुटरलाई पेलेर भित्तामा पुर्या एको थियो। ट्रकले स्कुटीलाई ठक्कर दिँदा बा १२ प ९२९३ नम्बरको कार पछाडीबाट ट्रकमा ठोक्किएको थियो। ठक्करबाट कारचालक सामान्य घाइते भए भने ठक्करलगत्तै ट्रकचालक फरार भए। प्रहरीले ट्रकधनीमार्फत चालक पत्ता लगाएर र नियन्त्रणमा लिन लागेको जनाएको छ।
राजधानीको केन्द्रस्थित देशकै सबैभन्दा चौडा सडकमा पटक–पटक किन ठूला दुर्घटना भैरहेका छन्? ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन्, 'प्रारम्भिक अनुसन्धानले सबै दुर्घटना चालककै लापरवाहीका कारण भैरहेको देखाएको छ।' उनले यसलाई महाशाखाले गम्भीरतापूर्वक लिएको र थप अध्ययनको तयारी गरेको जानकारी दिए।
चन्दका अनुसार महाशाखाले उक्त क्षेत्रलाई 'ब्ल्याक स्पट' मानेर दुर्घटनाका थप कारण खोजिरहेको छ। 'यो हाम्रा लागि पनि चिन्ताको विषय बनेको छ,' उनले भने, 'सरसर्ती हेर्दा फराकिला सडकका कारण सवारीको स्पिड बढेको र चालकको लापरवाहीले सवारी अनियन्त्रित भै दुर्घटना भएको देखिन्छ।' उनले उक्त स्थानमा सडकको डिजाइन, पैदलयात्रीले बाटो काट्न आकाशे पुल नहुनुलगायत अन्य प्राविधिक विषयमा पनि समस्या भए नभएको अध्ययन गर्नुपर्ने बताए ।
फराकिलो सडकसँगै बढेको सवारीको गतिका कारण गत फागुनमा बबरमहलकै जेब्रा क्रसमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको थियो। जेब्रा क्रसबाट सडक पार गरिहेका पैदलयात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा फागुन ६ गते मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो। बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयतिरबाट विशेष अदातलतर्फ गइरहेका ६२ वर्षिय अरुण कोइरालालाई सामान्य ठक्कर दिएको मोटरसाइकल तीव्र गतिमा भाग्न खोज्दा विपरीत दिशाबाट आएको बा १ प ११ ६६ नम्बरको पर्यटक बसमा ठोक्किएको थियो।
ठक्करपछि पनि बा २८ प २९४८ नम्बरको मोटरसाइकल हुँइकिन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका सुनसरी, धरानका २८ वर्षीय प्रविण प्रधानको मृत्यु भएको थियो।
महाशाखाको तथ्यांकअनुसार बबरमहलमा गत २७ असोजमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। बनेपाबाट आएको बा १ ख ८७७६ नम्बरको बस एक्कासी अर्को लेनमा पल्टेको थियो। बस पल्टँदा एउटा मोटरसाइकल किचियो भने दुई वटा मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा महोत्तरी, बर्दिबासका तिलक गौतम तथा उनका भाइ रु› गौतम र बाराका तेजामुन आलमको मृत्यु भयो भने एक दर्जन घाइते भएका थिए।
बबरमहलमा नै मंसिर २१ गते बस र स्कुटर ठोक्किँदा स्कुटरचालक २१ वर्षीया शान्ता हमालको मृत्यु भएको थियो। पुरानो बसपार्कबाट धुलिखेल जाँदै गरेको बा २ ख ३७ नम्बरको मिनिबसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर उछिट्टिएर बसमुनि पुगेको थियो। ठक्करका कारण सिकिस्त घाइते हमाललाई तुरुन्तै अस्पताल लगिएको थियो। तर उनको पनि अस्पताल नपुग्दै मृत्यु भएको थियो।
दुर्घटनाको दृष्टिकोणले बबरमहल सडकखण्ड सबैभन्दा जोखिमपूर्ण स्थल बनेपछि महाशाखाले 'ब्ल्याक स्पट' मानेर दुर्घटना न्यूनिकरण कार्यक्रम चलाउन लागेको चन्दले जनाए। उनका अनुसार विस्तारपछि चौडा भएका सडकमा सवारीसाधनले लेन अनुशासन पालना नगर्ने, पैदलयात्रीले सडक पार गर्न नजान्ने, सडक लाइनिङ नहुने, सवारी घुमाउने बेलामा चालक झुक्किनेजस्ता कारणले दुर्घटना बढेको पाइएको छ।
महाशाखाका अनुसार बबरमहलसँगै सडक विस्तारपछि ज्ञानेश्वर ओरालो, कमलपोखरी, तीनकुने, माइतीघर, चाबहिल, नयाँ बानेश्वर, गैह्रीधारा, सातदोबाटो, गठ्ठाघर, सल्लाघारी, कुपण्डोल क्षेत्रमा दुर्घटना बढेका छन्। महाशाखाले ती सबैलाई 'ब्ल्याक स्पट'मा राखेको छ।
Labels:
news
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment